नेपाल जग्गा तथा आवास बिकास महासंघ
Nepal Land and Housing Developers' Federation

महासंघको चौथो महासभा चितवनमा सम्पन्न, व्यवसायिक एकतामा जोड

Recent News May 18, 2026
महासंघको चौथो महासभा चितवनमा सम्पन्न, व्यवसायिक एकतामा जोड

भरतपुर, २०८३ बैशाख १२ गते ।

चितवनको भरतपुरमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको चौथो महासभाको उद्घाटन कार्यक्रममा वक्ताहरूले व्यवस्थित बस्ती विकास र योजनाबद्ध शहरीकरण आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै यसका लागि सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

देशको आर्थिक मेरुदण्डका रूपमा रहेको घरजग्गा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरूले जोड दिएका छन्। घरजग्गा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायमैत्री बनाउन सरकारसँग आवश्यक नीति तथा कार्यक्रम ल्याउन माग गरेका छन्।

महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि एवं भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले भरतपुरमा घरजग्गा व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको बताए । ‘व्यवस्थित बस्ती विकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ र भरतपुर महानगर यसका लागि पूर्ण रूपमा तयार र सक्रिय छ,’ उनले भने । भरतपुरलाई देशकै ‘आर्थिक सेन्टर’का रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै व्यवस्थित सहरीकरणका लागि नागरिक र व्यवसायी दुवैले जिम्मेवारी महसुस गर्नुपर्ने उल्लेख गरे ।

महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले रियल इस्टेट कम्पनीहरूलाई जग्गाको हदबन्दी नलाग्ने व्यवस्था गरी खरिद गरिएका आवास र अपार्टमेन्ट बिक्रीमा सहजता ल्याउनुपर्ने बताए । ‘२०८३ असारपछि पुनः कित्ताकाटमा आउन सक्ने समस्यालाई अहिले नै कानुनी रूपमा समाधान गरिनुपर्ने देखिन्छ,’ उनले भने । व्यापार घाटा कम गर्न र विदेशी मुद्रा भित्र्याउन कम्तीमा २० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई बिक्री गर्न पाउने नीति कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

महासभामा व्यवसायीहरूले घरजग्गा क्षेत्रमा रहेका कानुनी जटिलताका कारण व्यवसाय संकटमा परेको गुनासो गरेका छन् । महासंघका सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले नयाँ सरकारले दीर्घकालीन नीति र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

संस्थापक अध्यक्ष मीनमान श्रेष्ठले गैरआवासीय नेपालीलाई सहज रूपमा जग्गा खरिद गर्ने व्यवस्था मिलाउन र स्मार्ट सिटी निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकारलाई आग्रह गरे । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले घरजग्गा व्यवसायभित्र रहेका कमजोरीहरू सुधार गर्दै यसलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भेषराज लोहनी, वरिष्ठ उपाध्यक्ष विदुर धमला, उपाध्यक्षहरू ई. दीपक कुँवर, राजकुमार राई, पुरुषोत्तम पौडेल लगायतले देशभर व्यवस्थित सहर बनाउन महासंघले नेतृत्वदायी भूमिका खेल्ने बताए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव रोशन भोयध्यो र स्वागत मन्तव्य नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले राखेका थिए ।

 

वक्ताहरूले आम मानिसको व्यवस्थित घर बनाउने सपना पूरा गर्न व्यवसायीको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै सरकारले निजी क्षेत्रलाई साझेदारको रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए ।

-आर्थिक आवाज