नेपाल जग्गा तथा आवास बिकास महासंघ
Nepal Land and Housing Developers' Federation

साना घर बनाउनु भन्दा देशभर अपार्टमेन्ट बनाउने नीति आवश्यकः अध्यक्ष घिमिरे

News Highlights January 2, 2025
साना घर बनाउनु भन्दा देशभर अपार्टमेन्ट बनाउने नीति आवश्यकः अध्यक्ष घिमिरे

 

‘साना घर बनाउनु भन्दा देशभर अपार्टमेन्ट बनाउने नीति आवश्यक’

२०८१ पुष १४ गते ०६:२५
viber sharing button
sharethis sharing button

नेपालको राजस्व आम्दानीमा जग्गा तथा आवासको योगदान बढ्दो छ । राजस्वमा राम्रो योगदान दिने क्षेत्र भएपनि पुराना ऐन तथा कानूनको कारण जग्गा तथा आवास क्षेत्रको व्यवसाय फस्टाउन नसकेको व्यवसायीहरूको गुनासो छ । जग्गा तथा आवास व्यवसायीहरूले व्यवसायी हितको सुरक्षा तथा राज्यसँग समन्वय गर्ने हेतुले संगठित भएर आवाज पनि उठाउँदै आएका छन् । प्रस्तुत छ, जग्गा तथा आवासीय व्यवसायको अवस्था र समसामयिक विषयमा नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष निर्वाचित  विष्णुप्रसाद घिमिरे (धुव्र) सँग मध्यान्हका छवि सापकोटाले गरेको कुराकानी ।

जग्गा तथा आवास क्षेत्रका व्यवसायीहरूको अवस्था कस्तो छ ?

यतिबेला जग्गा तथा आवास क्षेत्रमा लगानी गर्ने व्यवसायी निरुसाहित नै छन् । सरकार र व्यवासय गर्ने दुबैको लागि यो राम्रो क्षेत्र भएपनि त्यसबाट लाभ लिन सकिएको अवस्था छैन । अझ पछिल्लो समय कोभिड पछि यो क्षेत्रमा गरिएको लगानी फसेको छ । अर्थतन्त्र चलायनमान गराउने जग्गा तथा आवास क्षेत्रलाई नियमनकारी निकायले कस्न खोज्दा अर्थतन्त्रकै चेन नै बिग्रिएको हो । तर अहिले फेरि बिस्तारै रियल स्टेट क्षेत्र लयमा आउन खोजिरहेको छ, जसले गर्दा सरकारको राजस्व समेत बढ्दै गएको छ ।

सरकार, बैंक, स्थानीय सरकारदेखि व्यक्ति सबैमा यो क्षेत्रलाई हेर्ने विचार राम्रो भयो भने रियल स्टेट ह्वात्तै माथि उठ्छ । अहिले चिया पसलदेखि हरेक व्यवसायी क्षेत्रमा  घरजग्गाको कारोबार ठप्पकै चर्चा हुन्छ । त्यसैले यो क्षेत्रलाई लयमा ल्याउनका लागि सरकारले स्पष्ट दृष्टिकोणसहितको दिर्घकालीन नीति बनाउन आवश्यक देखिन्छ ।

जग्गा तथा आवास क्षेत्रमा देखिएका खास समस्या के हुन् ? 

जग्गा र आवास क्षेत्रको अवस्था अहिले निकै भद्रगोल छ । हरेक व्यक्ति अहिले घर जग्गाको कारोबारी भएका छन् । जग्गाको मूल्य निर्धारण कसरी हुन्छ भन्ने कुनै अवधारणा वा मापदण्ड छैन । अस्वाभाविक मूल्य बढ्दा यो क्षेत्रमा अहिले समस्या देखिएको छ । जग्गाको मूल्य निर्धारण कतै अस्वाभाविक महँगो कतै सस्तोमा पनि नबिक्ने अवस्था छ । घडेरी बिक्रीका लागि निकै कठिन हुनेगरेको छ ।

घर जग्गा ब्रोकरहरूले दर्ता बिनाका र अनौपचारिक रूपमै कारोबार गर्ने हुँदा राज्यले राजस्व समेत गुमाएको छ भने खरिदकर्ताले महँगोमा मूल्य तिर्नुपर्ने अवस्था छ । त्यसैले अब जग्गा तथा आवासको लागि निजी क्षेत्रलाई लाइसेन्स दिएर व्यवस्थित गर्ने हो भने यो क्षेत्र व्यवस्थित हुन्छ । अहिले अपामेन्ट किन्ने भन्दा व्यक्तिगत घर बनाएर बस्ने धेरै छन् । विदेशी गएको दुई वर्षमै घर बनाउने हाम्रो संस्कार नै विकास भएको छ । घर बनाउने भन्दा सरकारले अपार्टमेन्ट बनाउने नीति अगाडि सार्न आवश्यक छ । अझै नेपालमा अपार्टमेन्ट विदेशीलाई समेत बेच्न सक्ने नीति बनाउने हो भने अपार्टमेन्टको विकाससँगै व्यवस्थित सहरीकरणलाई समेत सहयोग गर्छ । अहिले समस्या समाधानको लागि विकासलाई सहयोग गर्ने कानून नै बनाउनु पर्ने देखिन्छ ।

घर जग्गा व्यवसाय चलायनमान गराउन के गर्न आवश्यक छ ? 

यो व्यवसायलाई चलायनमान गराउने हो भने सरकारी निकाय र राष्ट्र बैंकले लिने नीति मै फराकिलो सोच बनाउन आवश्यक छ । बैंकिङ तरलता हुँदा समेत लगानीकर्ताहरूले ऋण लिन चाहिरहेका छैनन् । किनभने ऋण लिएर के गर्ने भन्ने अवस्था देखिन्छ  । यस्तै पछिल्लो समय आम्दानीको स्रोतको कारण समेत घरजग्गा किनबेच भइरहेको छैन ।

देशमा नयाँ व्यवस्था आएको भएपनि घर जग्गा सम्बन्धी नीति अति पुराना छन् । जग्गामा हदबन्दीको कारण पैसा हुनेले समेत जग्गा किन्न सक्दैनन्  । जग्गा तथा आवास व्यवसाय गर्नेलाई समेत हदबन्दीको कारण ठूला प्राजेक्टहरू गर्नसक्ने अवस्था छैन । प्रत्येक बजेटमा प्रमुख प्राथमिकता स्मार्टसिटी बनाउने, सहर बनाउने कुरा हुन्छ तर, कार्यान्वयनमा अगाडि बढ्दैन । अनि कसरी स्मार्ट सिटीको योजना अगाडि बढ्छ होला ? व्यवसायीले अपार्टमेन्ट, कोलनीको प्लान गर्नु पर्‍यो भने अहिले ५० वटा कम्पनी, ५० वटा अडिट ५० वटा फाइल तयार गर्नुपर्छ । त्यसपछि झन्झट कति हो कति ? त्यसैले यस्ता नीतिलाई संशोधन गर्न आवश्यक छ ।

यो विषयमा वर्षौंदेखि हामीले आवाज उठाएपनि सुनुवाई हुन सकिरहेको छैन । हाम्रोमा राजनीतिक नेतृत्व, कर्मचारी, नियामक निकायका प्रमुखहरू विदेश घुम्ने कार्यक्रम बनाएर गइरहेका हुन्छन् तर, त्यहाँको रियल स्टेट व्यवसाय कसरी सञ्चालन भएको छ भन्नेतर्फ ध्यान छैन । हामीले काम नगर्ने अनि देश बनेन भन्दै हिँड्ने प्रवृत्ति बढ्दो छ । यस्तै व्यक्तिले आफ्नो जग्गा जहाँ छ त्यहीँ नै घर निर्माण गरिरहेका छन् । यस्तै नीति नै १० वर्ष हुने हो भने खेतियोग्य जमिन नै सकिने खतरा छ । एक–दुई तले घर बनाउने कार्यले खेतीयोग्य जमिन सकिन्छ । अहिले ५ वटा घर भएको स्थानमा समेत कारोडौँ लगाएर बाटो, बिजुली, पानी, विद्यालय बनाउनपर्ने अवस्था छ । त्यो खर्च अपार्टमेन्ट बनाउन तर्फ सरकारले ध्यान दिने हो भने व्यवस्थित सहर बनाउन सकिन्छ ।

अन्त्यमा, तपाईंको आफ्नो कार्यकालमा यो क्षेत्रका लागि के गर्ने योजना बनाउनु भएको छ ? 

वस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी नीतिको रूपान्तरण नै अहिलेको आवश्यकता हो । जग्गा तथा आवास क्षेत्रका लागि चाहिने पुराना कानूनलाई समयसापेक्ष बनाउन आवश्यक छ । अहिले आवास तथा जग्गा व्यवसायीलाई स्थानीय सरकार देखि मालमोतसम्म समस्यै समस्या झेल्नुपर्ने अवस्था छ । अब हाम्रा नीति व्यक्तिगत घर भन्दा अपार्टमेन्ट, कोलनी, स्मार्ट सहरको रूपमा काम गर्नुपर्ने अवस्था छ । यसले खर्चलाई कम गर्न सकिन्छ भने नयाँ बन्ने सहर समेत व्यवस्थित बनाउन सकिन्छ । अब महासंघले सरोकारवाला निकायसँग भवन आवास तथा वस्ती विकासका विषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । हामीले जग्गा तथा आवास क्षेत्रलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्न आवश्यक छ ।